top of page

दानव ब्युँझिएको सहर

  • Writer: Rupa Humagain
    Rupa Humagain
  • Apr 13
  • 2 min read

मेरो हृदयको पानामा तपाईंलाई स्वागत छ। यहाँ कोरिएका शब्दहरू केवल अक्षर होइनन्; यी त जीवनका गहिरा भोगाइ, दबिएका चित्कार र मौन भावनाहरूका सजीव प्रतिबिम्ब हुन्। कविता र निबन्धमार्फत म मेरो आत्माको आवाजलाई यहाँ पोख्ने गर्छु। यो खाली ठाउँमा पाइला टेक्नुहोस्, सायद तपाईंले मेरा शब्दहरूमा कतै आफ्नै कथा भेट्टाउनुहुनेछ।



आमा, उ अघाउन्जेल स्तनपान गराऊ,


नत्र— एकदिन ऊ भोको ब्वाँसो झैँ,


खुल्ला मैदानमा स्तनकै खोजीमा भौँतारिनेछ।


उचाई मापन गर्ने बाहानामा,


हरेक नारीको चरित्रको धज्जी उडाउनेछ।



ऊ अघाएको ढोंग त गर्छ,


र भन्छ— "म सन्तुष्टि दिनेछु,"


तर आमा! यदि ऊ तृप्त हुन्थ्यो भने,


किन अझै यो बीभत्स तिर्खा ताजा छ?


किन सन्तुष्टिको नाममा ऊ,


सात वर्षकी नानीको पछिल्तिर धाउँछ?


अनि हरेक दिन—


निमोठिरहन्छ कलिला रहरहरू,


चुसिरहन्छ कोमल जीवनको रगत।



त्यसैले आमा, अब लाजको पर्दा फाल,


खुल्ला मैदानमा आऊ र नग्न भएरै खुवाऊ,


किनकि ऊ असाध्यै भोको छ।


उसले मेरो रोदन सुन्दैन आमा,


मेरो चीत्कार र गुहार देख्दैन,


ऊ त एउटा 'मानव' बाट 'दानव' बन्दैछ।



विडम्बना आमा!


त्यो दानव पनि तिम्रै सन्तान थियो,


र यो मारिने छोरी पनि तिम्रै सन्तान हो।


आमा, म पनि त आमा हुँ,


हिजोसम्म त म केवल छोरी थिएँ,


तर जुन दिन उसले मलाई निमोठ्यो,


मेरो अस्तित्व त्यही दिन ढल्यो।



म त हरेक दिन मरिरहेछु आमा!


यहाँ उजस्ता दानवहरू जन्मिरहेका छन्,


र मजस्ता निर्दोषहरू झुण्डाइइरहेका छन्।


खै किन अघाउँदैन ऊ?


त्यसैले आमा, तिमी खुल्ला मैदानमा आऊ,


नग्न भएरै स्तनपान गराऊ—


ताकि उसका हिंस्रक नजरहरू थाकुन्,


अनि मेटियोस् उसको यो युगौँ पुरानो तिर्खा।



एकान्त पाउनासाथ—


उसका हातहरू चरित्र छाम्न आइपुग्छन्,


म मुक्का हानूँ कि चक्कु?


विवशताको जालोमा बेरिएर म काँपिरहन्छु।


ऊ हजारका नोटहरू थमाउँदै,


मलाई एकान्तवासको निम्तो दिन्छ।



आमा, ऊ गिद्ध झैँ भएको छ,


न लास चिन्छ, न चिहान भन्छ,


न छोरी देख्छ, न आमा बुझ्छ।


उसले देख्छ त केवल— 'अघोरी भोग'।



त्यसैले आमा,


छोरा देख्दा मुटु काँप्छ, 'सपुत' होला कि 'कपूत'?


छोरीको तस्बिर देख्दा— आफ्नै निमोठिएको प्राण याद आउँछ।


आफ्नै गर्भसँग डर लाग्न थालेको छ।



आमा! यो समाजको भोक मेट्न,


तिमी त्यही खुल्ला मैदानमा आऊ,


र नग्न भएरै अन्तिम पटक स्तनपान गराऊ।

 
 
 

Comments


bottom of page

Join our community at apurnirjara.com today!

Join Now

Join our community at apurnirjara.com today!

Join Now