top of page

क्षितिज पारीको धड्कन

Writer: Rupa Humagain
Rupa Humagain
Apr 8
1 min read

Updated: Jul 1


अस्तित्वको खोजी र मौनताको लवज

"लेखन मेरो लागि एउटा प्रार्थना हो, जसले मेरो हृदयभित्रका शब्दहरूलाई आकार दिन्छ। यो कवितामा एउटा यस्तो चरीको कथा छ, जो स्वतन्त्र आकाश छोडेर नियतिको जालोमा फसेकी छ। जब विश्वास र भरोसाको मरुभूमिमा हिँड्दै गर्दा पाइलैपिच्छे 'राम-राम' भन्दै छुरा रोप्ने शक्तिहरूसँग जम्काभेट हुन्छ, तब एउटा सर्जकको मनमा कस्तो हलचल मच्चिन्छ?

आफ्नै मनको घाउ सुकाउने दबाइ खोज्दै गर्दा जन्मिएका यी पंक्तिहरू केवल शब्द मात्र होइनन्, ती मेरो आत्मिक खोजी र मौन चित्कार हुन्। यो रचना ती सबैका लागि हो जसले कहिलेकाहीँ आफ्नै सोझोपनको मूल्य चुकाउनु परेको छ र अहिले आफ्नै मौनतामा ओत लागिरहेका छन्।"


म मृत्यु जस्तै लुकाइएको रहस्य हुँ,

जालोमा बेरिएकी फन्दित त्यो चरी।

छोडी आएँ मैले पारिको आकाश,

भेट्छु कि दूरी कतै क्षितिजको पारी।


सिकारीको झुण्ड रहेछ मरुभूमि मुनि,

ऊँट जस्तै म पनि, गलामा बोकी हिँडेँ जीवन।

लगाऊँ फाँसी? धड्कन छ हिमाल पारी,

तिर्खा र प्यास छ समुन्द्रको किनारभरि।


भोको छ पेट, भुसको भारी छ गर्धन माथि,

खै कहाँ बिलायो भुसभित्रको धान?

न चामल मलाई, न पिठो मलाई,

देख्दिनँ सपना अचेल, उडिसक्यो निदाउने प्राण।


नसुनाऊँ मेरो लवज भन्छु, लाटो भनी पत्थर मिल्काउँछन्,

देखिनँ केही भनूँ, अन्धो भनी दिनलाई रात बनाउँछन्।

मौनतामा मौका हेरी आफ्नै नाउ चलाउँछन्,

छानी-छानी सोझो रुखको घाँटी रेटाउँछन्,

मिलाई हात गोजीमा, राम-राम भन्दै छुरा रोप्छन्।


कसलाई दिऊँ अपजस? विश्वास गरेँ घातीलाई,

बैगुनीलाई गुनले मार्छु भन्दा, पहाडबाट झरेँ तराई।

दूरी त्यो कहाँ होला, स्वयम्‌लाई भेटाउने?

दवाइ त्यो कहाँ मिल्ला, मनको घाउ सुकाउने?

मौनतामा छाडिगयो प्राणको सरकार,

सहुँ म कसरी यो कर्मको तिरस्कार?

 
 
 

Comments


bottom of page

Join our community at apurnirjara.com today!

Join Now

Join our community at apurnirjara.com today!

Join Now