रित्तो तराजु
म जिन्दगीको झ्यालबाट,
आफूलाई नियालिरहेको थिएँ।
कोही आउँदै थिए,
भने कोही जाँदै थिए।
मेरो जीवनमा आउनेहरू पनि,
बसका यात्रु जस्तै थिए...
अनि म—
गाडीको सहचालक जस्तो।
केही माग्थे उनीहरू,
पनि केही थिन्थे।
म हात थाप्थेँ,
उनीहरू किचकिच गर्दै दिन्थे।
यहाँ 'लिनु' र 'दिनु' मात्र भेटेँ।
कसैले याद दिएर गए,
कसैले पाठ सिकाए,
कसैले आँसु, हाँसो, अनि धोका...
केही न केही दिएर गए।
म कुनमा परेँ?
दिनुमा, कि लिनुमा?
'दिने'मा परेँ भने—
कसैको कुनै प्रगति देख्दिनँ,
कसैको केही थपिएको देखिएन।
एक्लै छन् प्रायः,
म भए पनि, नभए पनि।
अनि 'लिने'मा परेँ भने—
म पनि रित्तो नै छु, आजीवन।
खै केले भरिएँ म?
न खाली छु, न भरी छु।
खै त...
लिएको भए म शिरभन्दा माथि हुन्थेँ,
दिएको भए जमिन मुनि हुन्थेँ होला।
तर म सतहमै छु...
न किनार, न बगर,
म रोकिएर, रोकिन पनि सकिनँ।
खै कतिखेर, कहाँ गुँड छोडी...
मभित्रको यो फतरे चरो बसाइँ सर्ने हो?
उही जिन्दगीको यो सडकछाप गन्तव्य खोज्दै,
जिउने अभिलाषा बोकेको,
थाक्दै गरेको—म जिन्दगीको बटुवा,
अनि...
म मान्छे बन्न हिँडेको मनुवा।




Comments